निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटक खुसी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । त्यहाँ आउने पर्यटकले कहिलेकाँहीमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २ लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन् । निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन् । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ । त्योमध्येको एक पाटेबाघ त्यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो । गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ । यससँगै बुधबारदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ । महानगरपालिका-६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको बुधबार उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो ।

त्यस्तै, केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ त्यहाँको खोरमा राखिएको उनले जनाएका छन् । उनले भने, ‘निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो ।’ उनका अनुसार आजदेखि त्यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन । महानगरपालिकाले बाटो, मचान, कम्पाउण्डलगायत निर्माणमा रु १ करोड खर्च गर्ने गरि सो गन्तव्यको विकास गरेको उनले जनाएका छन् । यस क्षेत्रमा गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने उनले बताए । त्यहाँ आउने पर्यटकले तिरेको राजस्वले बाघलगायत वन्यजन्तुको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने उनको भनाइ छ ।

यसैगरी उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको जानकारी दिएका छन् । उनले भने, ‘बाघ हेर्न त्यहाँ आउने पर्यटक बढ्नेछन् ।’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने जनाएका छन् ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले भरतपुरको पर्यटन प्रर्वधनमा यो सहयोगी हुने बताएका छन् । निकुञ्जले बाँकेबाट विसं २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र विसं २०७७ असोज १२ गते भरतपुर-१३ को वेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ त्यहाँ ल्याएको हो । बाँकेबाट ल्याउँदा सो बाघ छ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए ।

त्यस्तै, निकुञ्जभित्र अझै दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन् । नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज यही हो । पछिल्लो गणनाअनुसार त्यहाँ १ सय २८ वयस्क बाघ रहेका छन् । देशभरको तथ्याङ्क ३ सय ५८ रहेको छ । चितवन पछि धेरै बाघ बर्दियामा रहेका छन् । त्यहाँ १ सय २५ वयस्क बाघ देखिएका थिए । निकुञ्जभित्र बाघले मानिसलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर राख्ने गरिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्