३ वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिँदै सुदीप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पहिलो वर्ष २ लाख लगानीमा सुरु गरेको स्ट्रबेरीखेतीले राम्रो आम्दानी दिन थालेको उनले बताएका छन् । ‘यो सिजनमा छ क्विन्टल बढी स्ट्रबेरी स्थानीय बजारमा बिक्री गरिसकेको छु’, सुदीप दवाडीले भने, ‘प्रतिकिलो छ सयका दरले बारीबाट बिक्री भएको छ, अझै बिक्रीका लागि तयार हुँदैछन् ।’ तराईमा स्ट्रबेरीखेती हुन्छ र यसबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन । दवाडीले तराई भूभागमै स्ट्रबेरीखेती गरेर आम्दानी लिइरहेका छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन् ।

त्यस्तै, ‘प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्याउन थोपा सिँचाइको व्यवस्था गरिएको छ’, उनी भन्छन, ‘स्थानीय बजारसँगै बाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ, बारीमै आइ टिपेर लैजाने ग्राहक प्रशस्त आउने गरेका छन् ।’ दवाडीले दुई कठ्ठा क्षेत्रफलमा स्ट्रबेरी लगाएका थिए । हालसम्म ३ लाख बढी आम्दानी गरिसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आम्दानी बढ्ने दवाडीको अनुमान छ । ‘इन्टरनेटका माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट पहिलो वर्ष ८ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ’, उनले भने, ‘यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले २ हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ ।’

एउटै बोटमा एक किलोसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगार दिएको दवाडी बताउँछन् । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेक बनाइ बजारमा बेच्न मिल्ने भएकाले जोखिम कम रहेको उनको भनाइ छ । उनले भाडामै दुई बिघा जग्गा लिएर स्ट्रबेरी, खरबुजा, ड्रागन फल, कागती, बयर, सितलचिनी खेती गरेका छन् ।

ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जनाएका छन् । ‘फूल फूलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्न लायक हुन्छ’, उनले भने, ‘हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि दिनमा २२ देखि २५ डिग्री सेल्सियस र रातमा ७ देखि १३ डिग्री सेल्सियस तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्