वन्यजन्तु सप्ताह: सामुदायिक वनमा चरा अवलोकन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । २९औँ वन्यजन्तु सप्ताह अन्तर्गत चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो ।

चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु विँडारीले बताएका छन् । उनका अनुसार त्यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन् । चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका विँडारीले जनएका छन् ।

त्यस्तै, ओझेलमा रहेका जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासका लागि दबाब सृजना गर्न वन्यजन्तु सप्ताहको अवसरमा पारेर चरा अवलोकन कार्यक्रम राखिएको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरीको भनाए छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएकामा चिन्ता व्यक्त गरेका छन् । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आकर्षित गर्ने गतिविधि आवश्यक रहेको उनी बताउँछन् । घिमिरेले पर्यटकलाई डुङ्गा सयर गराइरहेको जनकौलीमा निकट भविष्यमा जीप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जनको आधार तयार गरिने उल्लेख गरेका छन् ।

जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले यस वनमा चराको राम्रो बासस्थान रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । अन्य देशबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेका उनको भनाइ छ । जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेसन सोसाइटी सौराहा र नेचर गाइड एसोसिएसन सौराहाको सहकार्यमा आवश्यक उपकरणको प्रयोग गरी चरा अवलोकन गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तु र मानिसबीचको सहअस्तित्व सम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, भोलि डुङ्गा सयर, वैशाख ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली गरिने आयोजकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्