काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री गगन थापाका अभिव्यक्तिमाथि गरिएको ‘ट्रोल’का विषयमा प्रतिक्रिया जनाएका छन् । उनले गगनकोे नाम उल्लेख नगरी मिथ्या सूचनाबाट मत परिवर्तन गर्न सकिन्छ भन्ने भ्रम उपनिर्वाचनले चिरिदिएको बताएका छन् ।
उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरेका महामन्त्री शर्माले उत्तेजनाको राजनीतिले पनि सधैँ परिणाम नदिने सन्देश गएको बताएका हुन् । “उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ । निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउन र सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टीपंक्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ ।”शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
चुनावी दौड सकिएको भन्दै उनले जनप्रतिनिधिलाई आफ्नै भूमिकामा सक्रिय रहन आग्रह गरेका छन् । उनले चुनावी आग्रह र पूर्वग्रहबाट मुक्त भएर काम गर्न पनि जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।