काठमाडौँ । शुक्रबार र शनिबार सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली आजै राति नेपाल प्रवेश गर्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । पश्चिम नेपालबाट त्यो प्रणाली प्रवेश गर्नेछ । आज दिउँसो भने सबैतिर मौसम सामान्य रहने उनले उल्लेख गरे ।
यो वर्षको हिउँदको पहिलो र दोस्रोजस्तै शुक्रबार र शनिबार पनि पश्चिम नेपालमै वर्षाको सम्भावना बढी छ । उनका अनुसार, अरू प्रदेशमा हल्का वर्षाको सम्भावना छ । शुक्रबार दिउँँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
शुक्रबार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको पनि सम्भावना रहेको छ । शनिबार भने देशभर साधारणतया बदली रहने उनले जानकारी दिए । त्यस दिन सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
शनिबार दिउँसो काठमाडौंमा पनि वर्षाको सम्भावना छ ।