बागलुङको गलकोटलाई ऋषिङ अध्यक्ष कपको उपाधि

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा सम्पन्न फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो । प्रतिस्पर्धात्मकरूपमा सम्पन्न खेलमा गलकोट ३–२ सेटले विजयी भएको हो । शुक्लागण्डकी नगरपालिका गत वर्ष सम्पन्न प्रथम ऋषिङ कपको विजेता हो ।

यसपटक शुक्लागण्डकीले उपविजेतामा चित्त बुझायो । स्याङ्जाको बिरुवा गाउँपालिकालाई पराजित गर्दै गलकोट फाइनलमा पुगेको थियो भने शुक्लागण्डकी भिमाद नगरपालिकालाई हराउँदै फाइनलमा पुगेको थियो । यसैगरी स्याङ्जाको बिरुवा गाउँपालिका तेस्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको छ ।

जितसँगै गलकोट नगरपालिकाले रु एक लाख ४० हजार पुरस्कार प्राप्त गरेको छ भने द्वितीय भएको शुक्लागण्डकीले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो भएको बिरुवाले रु ६० हजार र चौथो भएको भिमादले रु ३० हजार पुरस्कार प्राप्त गरेको छ । विजेतालाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । यही मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १६ टोली सहभागी थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्