जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाउनु भएन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निराश भएर रितो हात घर फर्किए । ‘‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन”, उनले भने ‘‘धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।” गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उनको भनाई छ ।
धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको औरही गाउँपालिका–४ का शत्रुधन यादव पनि मल नपाएपछि निराश बन्नु भएको छ । ‘‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्”, उनले भने , ‘‘ कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।” मल नपाएपछि गहुँबाली लगाउनै समस्या भएको उनको भनाइ छ ।
यो समस्या रोहित र शत्रुधनको मात्र होइन, धनुषा र महोत्तरीका अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा प्रयाप्त मल नपाएपछि निराश बनेका हुन् । धनुषा र महोत्तरीलगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा धानबाली पछि गहुँबाली लगाउने गरेका छन् । तर समयमा मागअनुसारको मल नपाउँदा किसानहरु वर्षेनी मार खेप्दै आएका छन् ।
कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताए । अधिकांश खेतीयोग्य जग्गामा धान काटीसकेको र गहुँबाली लगाउने बेला भइसके पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेको उनको भनाइ छ । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठूलो मार खेप्दै आएका छन् ।
धनुषामा वर्षेनी रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर धनुषाका प्रमुख रामकुमार चौधरीले बताए । एकातिर धनुषामा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी धनुषामा वर्षेनी मलको आपूर्ति घट्दै गएको छ ।
केन्द्रले चालु आर्थिक वर्षमा धनुषाका लागि पाँच हजार मेट्रिक टन युरिया र चार हजार ५०० मेट्रिक टन डीएपी मलको लक्ष्य तोके पनि हालसम्म दुई हजार ९०५ मेट्रिक टन युरिया र एक हजार ६२७ मेट्रिक टन डीएपी प्राप्त भएको प्रमुख चौधरीले बताए । तीमध्ये दुई हजार ३५० मेट्रिक टन युरिया, एक हजार ५८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको छ । हाल ५५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी गोदाममा रहेको प्रमुख चौधरीले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्ष ०७७-०७८ मा छ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा युरिया तीन हजार २०० र डीएपी चार हजार ५०० मेट्रिक टन मात्र आपूर्ति भएको थियो । आर्थिक वर्ष ०७७-०७८ मा भन्दा चालु आर्थिक वर्षमा रासायनिक मलको कोटा कम गरे पनि त्यस बमोजिम आपूर्ति नभएको प्रमुख चौधरीको भनाइ छ । यसवर्षको गहुँ सिजनका लागि तीन हजार मेट्रिक टन डीएपी र चार हजार मेट्रिक टन युरिया मलको माग गरे पनि ६२७ मेट्रिक टन डीएपी र ९०५ मेट्रिक टन युरिया मात्र उपलब्ध भएकाले सबै किसानलाई मल उपलब्ध गराउन समस्या भएको उनले बताए ।
कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरु मार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ । “हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटा बमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ”, प्रमुख चौधरीले भने “ मल आए लगतै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।
डीएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । गहुँबाली लगाउने बेला भएकाले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मुल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको उहाँले बताउनुभयो । डीएपी र युरिया मलको माग बढ्काले आपूर्तिका लागि केन्द्रमा पटकपटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकाले समस्या परेको प्रमुख चौधरीको भनाइ छ । –रासस