विद्युत् सबस्टेशन बन्ने भएपछि सर्वसाधारण उत्साहित

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । आफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा खुशीयाली छाएको छ । प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीलाई वैज्ञानिक व्यवस्थापन गर्ने गरी सबस्टेशन निर्माणको काम थालिएपछि यस भेगका सर्वसाधारणमा अब विद्युत् कटिरहने समस्या नआउने विश्वासमा खुशी छाएको हो । बर्दिवास–२ को हङकङडाँडामा आइतबार शिलान्यास भएसँगै सबस्टेसन निर्माणको काम अघि बढेको छ ।

“हाम्रै बस्तीमा सबस्टेशन निर्माणको काम अघि बढेको छ”, बर्दिवास नगरपालिका–२ का वडा सदस्य एकबहादुर भुजेलले भने , “पहिलो कुरा त हाम्रै बस्तीमा यति ठूलो परियोजनाको काम थालिएको खुशी छ, अर्को यो निर्माण सम्पन्न भएपछि विद्युत् कट्ने समस्या नपर्ने आश छ ।” एकबहादुरजस्तै हङकङ बस्तीका क्षेत्रबहादुर भुजेलले पनि सबस्टेशन निर्माण थालिएपछि आफ्नो बस्तीमा खास काम काम हुँदैछ भन्ने लागेको बताए ।

नेपाल विद्युत् प्राधिकरणले प्रदेशका सबै जिल्लाका विद्युत् उपभोक्तालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सबस्टेशन निर्माण थालिएको जनाएको छ । विद्युत् सेवामा सबैको पहुँचलाई प्रभावकारी बनाउन र अत्याधुनिक वितरण प्रणाली व्यवस्थित गर्न सबस्टेशन बनाउन लागिएको जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

“ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत सबस्टेशन निर्माणको काम थालिएको हो”, ठाकुरले भने , “प्रदेशभरिमै यो सबस्टेशनले प्रभावकारी सेवा प्रवाह गर्नेछ ।” यो आयोजनाअन्तर्गत प्रदेश नं २ का आठवटै जिल्लामा विद्युत् वितरण प्रणालीको सुदृढीकरण, पुनःस्थापना र पूर्ण विद्युतीकरण गरिने लक्ष्य रहेको प्राधिकरणले स्पष्ट पारेको छ । आठ जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहित ३३÷११ केभी क्षमताका १० सबस्टेशन निर्माण गरिने आयोजना संयोजक बोधराज ढकालको भनाइ छ । यससँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्मर जडान गरिने प्राधिकरणले जनाएको छ ।

सबस्टेशनको निर्माणलाई वरिपरिका गृहिणी भरोसामन्द भएर नियालिरहेका छन् । “विद्युत् नियमित नहुँदा सबैभन्दा बढी मर्कामा हामी गृहिणी पर्छौँ”, , “रातबिरात विद्युत् कट्दा घरका काम सक्न समस्या हुन्छ, तर अब सबस्टेशन निर्माण सम्पन्न भएर सेवा थालिएपछि यस्तो समस्या नहुने सुन्दैछौँ, हामी यो कुराले उत्साहित छौँ ।”

हालसम्म प्रदेश २ का महोत्तरीसहित धनुषा, सर्लाही, सिरहा, रौतहट, सप्तरी, बारा र पर्सासहितका आठवटै जिल्लाका कतिपय स्थानमा धेरै पुराना र जीर्ण संरचनामार्फत विद्युत् वितरण भएका ठाउँमा अब नयाँ संरचना विकास गरेर सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने जनकपुरस्थित प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख ठाकुरको भनाइ छ । विद्युत् वितरण लाइनको स्तरीयता, कृषि र औद्योगिक लाइनको थप क्षमता विस्तारको पक्ष सुदृढ गर्दै वितरण प्रणालीलाई आमूल परिवर्तन गर्न लागिएको ठाकुरले बताए ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको आयोजनाका पाँच चरण छन् । यी पाँचै चरणका निर्माण कार्यलाई सँगसँगै अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माण ठेक्का बन्दोबस्त भएको करिब रु चार अर्ब लागतको यो निर्माणकार्य दुई वर्ष छ महिनाभित्र सम्पन्न हुने उल्लेख छ । निर्माण ठेक्का लिएको कम्पनी टाटा प्रोजेक्टका प्रबन्धक सन्दीप कुमारले निर्धारित समयभित्रै काम सम्पन्न हुने बताउनुभएको छ । आयोजना निर्माण तथा कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एशियाली विकास बैंकमार्फत उपलब्ध भएको प्राधिकरणले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्