विराटनगर । तीन दिनदेखि वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । मोरङको रंगेली नगरपालिका– २ नहर टोलकी २ वर्षीया बालिका निशा उराउको शव खाल्डोमा फेला परेको हो ।
दुई दिनदेखि बेपत्ता निशाको शव घरदेखि ६० मिटर टाढा पोखरी छेउमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको उनका बाबु चन्द्र उराउले बताए । ‘आइतबारदेखि खोजिरहेका थियौं तर भेटेको थिएन, हिजो पनि राति १ बजेसम्म बस्यौ,’ उनले भने, ‘बिहानपख भर्खरै खनेको खाडी देखियो, खोतलेर हेर्दा छोरीको कपडा र शव देखेपछि प्रहरीलाई खबर गर्यौं ।’
पानीमा डुबेको आशंकामा आइतबार र सोमबार पोखरीमा जाल हानेर पनि खोजिएको थियो । तर मंगलबार घर नजिकै भर्खरै खनिएको खाल्डोमा शव देखिएपछि बुबा चन्द्रले हत्या गरी खाल्डोमा पुरिएको दाबी गरे ।
बेपत्ता बालिकाको शव भेटिएपछि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।