नमूना सदरमुकाममा बाटो बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको महत्वकाङ्क्षी योजनाका रुपमा रहेको नमूना सदरमुकाममा बाटो निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । यसैगरी नमूना सदरमुकाममा बन्ने सरकारी कार्यालयको डिजाइन बनाउनेलगायतको प्रक्रियासमेत अगाडि बढेको छ ।

जिल्लाको कावासोती नगरपालिका–३ मा रहेको १८७ बिघा क्षेत्रफलमा सबै सरकारी कार्यालय एकीकृत रुपमा रहने गरी नमूना सदरमुकाम निर्माणको योजना अगाडि बढिरहेको छ । त्यसअन्तर्गत अहिले पहिलो चरणमा सदरमुकाम क्षेत्रभित्र पहुँचमार्ग निर्माणका लागि काम भइरहेको छ । छ किलोमिटर लम्बाइको बाटो निर्माण कार्य यतिबेला चलिरहेको छ ।

५०, ३० र २० मिटर चौडाइका मुख्य तथा शाखा सडक निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको नमूना सदरमुकाम निर्माण कार्य हेरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका आयोजना प्रमुख प्रकाश अर्यालले बताउनुभयो । रु ११ करोडको ठेक्का सम्झौता भएर अहिले बाटो निर्माणको काम सञ्चालनमा रहेको आयोजना उनले जानकारी दिए । पहिलो चरणमा बाटो ग्राभेल गर्ने र अर्को ठेक्का निकाली कालोपत्र गर्ने योजना रहेको उनले बताए ।

सदरमुकाम क्षेत्रमा बाटो निर्माणको काम चलिरहँदा केही भवनको डिजाइनसमेत तयार भइसकेको आयोजना प्रमुख अर्यालले जानकारी दिनुभयो । अति आवश्यक परेका कार्यालय पहिलो चरणमा निर्माण गर्ने गरी डिजाइन तयार पारिएको उनले बताए ।

नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय निर्माण हुनेछन् । हाल सङ्घ मातहतका १६ र प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ । सदरमुकाम निर्माणस्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायत संरचनासमेत निर्माण हुनेछन् ।

नमूना सदरमुकाम निर्माणको गुरुयोजना अनुसार करिब रु १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ वैशाख ७ गते शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि मात्रै सदरमुकाम निर्माणको प्रारम्भिक चरणका काम अगाडि बढेको थियो । अहिले कामले केही गति लिएको प्रमुख जिल्ला अधिकारी मनमाया पङगेनीले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्