ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पु¥याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गर्नुभयो । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली प्रशोधन गर्नाका साथै दूधबाट खुवा बनाउने उपकरण पनि जडान गरिएको अध्यक्ष गङ्गबहादुर थापाले जानकारी दिए ।

झण्डै ५०० किसान सहभागी सहकारीले प्रशोधन उद्योग सञ्चालनमा ल्याएसँगै कृषि उत्पादनको प्रशोधन तथा बजारीकरणको काम पनि गर्ने उनले बताए । किसानले पालेका गाईभैँसीको दूधबाट खुवा बनाउने काम उद्योगमा हुन्छ । खुवाको माग बजारमा उच्च रहेकाले दैनिक उत्पादन थालिएको सहकारीले जनाएको छ । प्रतिकिलो खुवा बागलुङ बजारमा एक हजारदेखि एक हजार १०० सम्ममा बिक्री हुने गरेको छ ।

‘उद्योगले उत्पादन गरेको दाना पशुचौपायका लागि हुन्छ, दूधको खुवा बजार गइरहेको छ’ अध्यक्ष थापाले भन्नुभयो । गौँडाकोटमा रहेको झण्डै तीन रोपनी जमिन भाडामा लिएर उद्योग सञ्चालन गरिएको हो । सहकारीले रु ३० लाख लगानी गरेर उद्योग सञ्चालनमा ल्याएको कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए । उक्त उद्योगका लागि प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले रु नौ लाख दुई हजार अनुदान उपलव्ध गराएको थियो ।

तरकारी र खाद्यान्नबालीको व्यावसायिक उत्पादन गरिरहेका किसानले साना कृषि उद्योग पनि सञ्चालन गर्दा उत्पादन, प्रशोधन र बजारीकरणसम्मको सबै काम एकद्वार प्रणालीमार्फत हुने सहकारीका सदस्यको विश्वास छ ।सहकारीले बँदेल पालनसमेत सुरु गरेको छ । जङ्गलमा पाइने बँदेलको माग बजारमा अत्यधिक भए पनि व्यावसायिक उत्पादन नहुँदा आपूर्ति कम रहेको भन्दै सहकारीले सामूहिक बँदेलपालन थालेको अध्यक्ष थापाले बताए । ‘घाम, पानी, हावाहुरी र वर्षामासमेत खेतबारीको अलमलिने किसानको आज आफ्नै उद्योग छ’ सहकारीका सचिव नारायण शर्माले भने ,“यो उद्योग उपभोक्ता र उत्पादक सबैका लागि सहयोगी बन्ने छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्