टोड्केमा व्यावसायिक मुलाखेती विस्तार

Ad
  • कालोपाटी सम्बाददाता

गलेश्वर । उत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक । यतिबेला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा यस्तै रोमाञ्चक दृश्य देख्न पाइन्छ ।

टोड्केमा पछिल्ला वर्ष मुलाखेती राम्रैसँग फस्टाएको छ । यहाँ स्थानीय जातको सेतो र रातो रङको मुला लगाइन्छ । स्थानीयले बाबुबाजेको पालादेखि लगाउँदै आएको मुलाखेतीलाई अहिले पनि निरन्तरता दिएका छन् । यहाँ जम्मा पाँच घरधुरीको बसोबास छ । ती परिवारले उत्पादन गरेको मुला नेपालका विभिन्न सहरमा मात्रै होइन धजरा, गुन्द्रक, चाना र सुकुटी बनेर कोसेलीको रुपमा युरोप अमेरिकासम्म पनि पुगेको स्थानीय किसान तीजमाया पाइजाले बताए ।

टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती हो । स्थानीयवासीले मुला, आलु र फापरको साथमा भेडापालन गर्छन् । भैँसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा स्थानीय मुला खोज्दै ग्राहक किन्न आउने गरेको पाइजाले बताए । उनका अनुसार एक परिवारले एक मौसममा उत्पादित मुला बेचेर झण्डै लाख रुपैया आम्दानी गर्दछन् ।

चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइँका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो । टोड्के धौलागिरि क्षेत्रमै मुलाखेतीका लागि प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । हिउँद र वर्षामा मुलाखेती गर्न सकिन्छ । टोड्केमा एकै मौसममा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ ।

आफूहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बीउ लिएर लगाएको र अहिले पनि तीन रोपनीमा मुलाखेती गरेको पाइजाले बताए । मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँमा बेचिन्छ ।

विषादी प्रयोग नगर्दा उत्पादन राम्रो तथा गुणस्तरीय हुन्छ । ग्राहक स्थानीय जातको मुला खोज्दै किसानको बारीमा नै पुग्ने गरेका छन् । परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मल प्रयोग गरेपछि मुलाको तौल बढ्ने गरेको टोड्केका अर्का व्यवसायी मीनबहादुर थजालीले बताए ।

जिल्लाकै पहिचान बोकेको टोड्केको मुलाखेतीलाई प्रोत्साहन गर्न किसानले आफूहरुलाई कृषि औँजार, उपकरण र अनुदान सहयोगको माग गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्