प्रज्ञाभवनमा जुरेको व्यापार र सेवाको अवसर

Ad
  • कालोपाटी सम्बाददाता

कुनै पनि सभा तथा सम्मेलन केही मानिसका लागि एउटा खास अवसर बनिदिन्छ । धेरै मानिसको उपस्थिति । तिनका अनेकन रुचि र अनि चाहना । कसैका लागि व्यापारको थलो त कसैका लागि ज्ञानको भण्डार विस्तार गर्ने गन्तव्य ।

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन पनि यस्तै भएको छ केहीका लागि । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसर यतिबेला इन्द्रेणीको सात रङजस्तै विविधताको रङमा परिणत भएको छ । विशेषगरी जनयुद्धबाट खुला राजनीतिमा आएपछि माओवादीले ठूला–ठूला भेला आयोजना ग¥यो । कहिले जनपरिचालन ग¥यो त कहिले सङ्घर्षको बिगूल पनि बजायो ।

कहिले विचारको संश्लेषण पनि ग¥यो । त्यस्तै क्रममा माओवादी यतिबेला समाजवादी क्रान्तिको नयाँ मोडल स्थापित गर्न लागिपरेको छ । कमलादीमा संविधानले भनेजस्तै समाजवादोन्मुख व्यवस्थाको खोजीमा लागेको छ । यही मौकामा कमलादी परिसरमा अनेकन प्रवृत्तिका पात्रहरू पनि भेला भएका छन् । विशाल भेटघाटको यस अवसरमा भेटिनुभयो वैज्ञानिक समाजवाद निर्माण अभियान प्रकाशनका सञ्चालक हरिशचन्द्र खड्का । उहाँ पुस्तकहरू बोकेर माओवादीका नेता तथा कार्यकर्ताको ज्ञान बढाउन आएका  हुन् ।

उनका साथमा अधिकांश माक्र्सवादी पुस्तक छन् । उनले २५ प्रकारका पुस्तक ल्याउनुभएको छ । ‘सहयोगी समाज’ नामक पुस्तक सबैभन्दा बढी मन पराइएको छ । सोही पुस्तक नै सबैभन्दा बढी बिक्री भएको छ । माओवादीका नेता तथा कार्यकर्ता अध्ययनशील देखिएको उनको भनाइ छ । उनले भने , “मैले सोचेभन्दा राम्रो बिक्री भएको छ”, नेपालमा समाजवाद कस्तो र कसरी भन्ने पुस्तकको उत्तिकै माग बढेको छ ।

माओवादी कार्यकर्ताले विज्ञान र प्रविधिमा आधारित समाजवादसम्बन्धी पुस्तक बढी मात्रामा खोजी गरेको उनको भनाइ छ । उनले अगाडि भने , “कम्युनिष्ट दर्शनको सिद्धान्त धेरैले पढिसकेका छन्, अहिले जुन विज्ञान र प्रविधिमा आधारित समाजवाद भनिएको छ त्यसैले पनि पाठकले ग्लोबलाइजेशन र डिजिटलाइजेशनलाई व्याख्या गर्न सक्ने खालका पुस्तकको खोजी गरेका छन् ।”

‘विज्ञान संसार’ भन्ने नयाँ पुस्तक बजारमा आउँदै छ । अहिलेसम्म दुई दिनमा समाजवादको यात्रा नामक पुस्तक एक हजार प्रतिभन्दा बढी बिक्री भएको छ । दर्शन विश्वकोर्ष नामक पुस्तक पनि उत्तिकै बिक्री भएको छ रे उनको अनुसार । त्यस्तै महाधिवेशनस्थल प्रज्ञा भवनको हल बाहिर प्रारम्भिक जडीबुटी सहकारी संस्थाबाट सङ्कलित प्रशोधित जडीबुटी तथा औषधिजन्य वस्तु पनि उत्तिकै बिक्री भएको छ । जडीबुटीजन्य औधषिको बिक्री वितरण गरिरहनुभएका ईश्वरी पाण्डेका अनुसार मानव स्वास्थ्य, माटो व्यवस्थापन र प्राकृतिक सम्पदाको लागि अतिउपयोगी ३८ प्रकारका जडीबुटीजन्य औषधि राखिएको छ ।

रुघा, खोकी र हाडजोर्नीसम्बन्धी औषधि बढी मात्रामा बिक्री भएको पाण्डेको भनाइ छ । नाफा नराखीकन प्रचारात्मकरूपमा औषधिमा ३३ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उनले भने , “समाजवादी अभ्यास गर्न समाजसँग जोडिएको स्थानीय उत्पादन मैले राखेको छु । प्राकृतिक दोहनलाई नियन्त्रण गर्दै पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो ।”

उनका अनुसार माओवादीले समाजवादको कार्यक्रममात्रै होइन, कार्यदिशा पनि ल्याओस् भन्ने अपेक्षा गर्नुहुन्छ । त्यसैको प्रचारका लागि पनि मैले यहाँ जडीबुटीको प्रचार गर्न खाजेको हुँ । जनस्वास्थ्यकर्मी महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष कानूनलाल चौधरीलाई पनि महाधिवेशनस्थलमा भ्याइनभ्याइ छ । उनका अनुसार महाधिवेशनस्थलमा स्वास्थ्य सेवासँगै प्रगोगशालाको पनि व्यवस्था गरिएको छ । औषधि पनि उत्तिकै उपलब्ध छन् । प्रज्ञा भवनको प्राङ्गणमा इसिजीलगायत सेवासहित आकस्मिक सेवाको पनि व्यवस्था छ । दुई दिनमा ५०० जनालाई स्वास्थ्य सेवा दिइएको छ ।

प्रतिनिधिहरूको स्वास्थ्य परीक्षणका लागि रगत सङ्कलन गरिएको छ । वरिष्ठ चिकित्सक, नर्स गरी करिब २०० स्वास्थ्यकर्मी महाधिवेशनमा परिचालित छन् । आकस्मिक उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल निजामती अस्पतलालगायतसँग समन्वय र सहकार्य गरिएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासङ्घले महाधिवेशनमा सहभागी प्रतिनिधि र सहभागीलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न सल्लाह दिएको छ ।

यस्तै स्यानिटाइजरको प्रयोग नियमित गर्न, खोक्दा हाछ्यँु गर्दा नाक मुख छोप्न र भौतिक दूरी कायम गर्न पनि अनुरोध गरेको छ । प्रज्ञा भवनको प्राङ्गणमा जनयुद्धका क्रममा विभिन्न समयमा लिइएका तस्वीर प्रदर्शन गरिएको छ । यसले नेता तथा कार्यकर्तालाई इतिहासको स्मरण गराइरहेको छ ।

यस्तै क्रान्तिचेतसहितको चित्र पनि भवन परिसरमा राखिएको छ । त्यसमा माओवादी अध्यक्ष प्रचण्डलाई ट्र्याक्टर चालकका रूपमा प्रस्तुत गर्दै समाजवादी क्रान्तिको नायकका रूपमा उभ्याइएको छ । समाजवादी क्रान्तिका लागि ट्र्याक्टर अर्थात् आधुनिक खेती प्रणाली अगाडि बढाएर जानुपर्ने पेन्टिङको अर्थ छ । कलाकार केशवराज खनालले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि उक्त चित्र तयार पार्नुभएको हो । त्यसको शीर्षक छ– ‘औद्योगिक क्रान्ति र समाजवाद’ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्