अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् । उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुने भएको छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन् । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पुर्याउन सक्ने विभिन्न ९ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गर्नेछन् । साथै, शान्ति स्थापनासम्बन्धी समस्या, चुनौती र तिनको समाधानबारे प्रस्तुति तथा छलफल हुनेछ ।

त्यस्तै, खड्काले नेपालकातर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्ने भएका छन् । नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन् । सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेटगर्नेछन् । साथै, अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनमार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पुर्याएको योगदानबारे चर्चा हुने र नेपालको छवी थप उच्च हुने अपेक्षा गरेका छन् । नेपालका उपप्रधानमन्त्री स्तरको नेतृत्वमा हुने सहभागितालाई संयुक्त राष्ट्र सङ्घले उच्च महत्व दिँदै सदस्य राष्ट्रका तर्फबाट वक्ताका रुपमा सहभागी गराउने गरी कार्यक्रम तय भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्