पशुपति क्षेत्र विकास कोषद्धारा जथाभावी शतबीज नछर्न आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै कैलाशचौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले जानकारी दिएका छन् ।

उनका अनुसार कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरेको छ ।

पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषको सहयोगमा नि:शुल्क पालको व्यवस्थागरेको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेका लागि कोषमा २ हजार १ सय रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाएको छ । त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।

यस्तै, बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड-रक्सी र अन्य नशालु पदार्थ सेवन तथा बिक्री-वितरणमा रोक लगाइएको छ । बालाचतुर्दशी पर्व आउँदो सोमबार अर्थात् यही मङ्सिर २४ गतेबाट सुरु हुँदैछ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानाबाट पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरूपमा रोक लगाइएको कोषका सदस्यसचिव खत्रीले जानकारी दिएका छन् ।

उनले भने, ‘बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमार्फत भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ । उक्त सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ ।’ बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्क (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको सदस्यसचिव खत्रीले बताएका छन् । उनले भने, ‘बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाएको छ । भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।’

त्यसैगरी, बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खट्ने पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा.खतिवडाले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्