चितवन राष्ट्रिय निकुञ्जले ध्रुवे हात्तीलाई रेडियोकलर जडान गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो ।

यस्तै, विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहार अघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरेको छ ।

हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकता अनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाएको छ । उनले भने, “हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोष्टमा सूचना गरिएको छ ।” अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको उनले बताएका छन् ।

हात्तीलाई खुल्ला चौर र घाँसे मैदानमा लगरे बेहोस् बनाइ यो कलर जडान गर्नुपर्ने भएकाले समस्या हुँदै आएको उनले जानकारी दिएका छन् । उक्त हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको पनि तिवारीले जानकारी दिएका छन् । ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको थियो । यसलाई रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्नेछ ।

उनले भने, “रेडियोकलर जडान गरेसँगै बस्ती पस्न लागेको भए जनतालाई सूचना गर्न सहज हुनेछ ।” हात्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिसकेको निकुञ्जको अनुमान छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्