बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री महत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले (आज) शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा अधिकांशमा छ ।’ अहिले मानिसमा बीमा गर्नुका फाइदाका बारेमा जानकारी दिँदै बीमा सचेतना जगाउनु आवश्यकता रहेको उनको भनाइ थियो ।

मन्त्री डा.महतले भने, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ ।’ जीवनमा हरेकलाई समस्या आई पर्नसक्ने भएकाले अहिले केही योगदान दिएर भोलि आइ पर्नसक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने उनले बताएका छन् । उनले भने, ‘जसले बीमा गरिसकेको छ, आपत पर्दा बीमा कम्पनीहरूले बीमाबापतको रकम दिन आनाकानी गर्नु हुँदैन । यसले गर्दा सम्भावित बिमितमा सकारात्मक सन्देश जान्छ र उनीहरू पनि बीमा गर्न तयार हुन्छन् ।’

त्यस्तै, बीमामा जोडिएका सबै र नियमक निकाय तथा प्राधिकरणले बीमा विस्तारमा भएका अवरोध हटाउँदै काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् । यस सन्दर्भमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने मन्त्री डा महतको भनाइ थियो । उनले बीमा कम्पनीले व्यवसायिकतालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘बीमा कम्पनीले रकम लिने बेला विज्ञापन गर्ने, स्रोत जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला र बहाना झिक्ने गरेको सुन्निछ । यस्तो अस्थामा बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण हुन्छ । बीमा कम्पनी र बिमित व्यक्तिको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ । बीमा सर्भेयरले कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यसरी काम गर्न सकियो भने बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका अर्थपूर्ण मानिन्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्