भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० % को शल्यक्रिया !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरेका छन् । आर्थिक वर्ष २०७९-८० मा ४०.४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार ८ सय ९४ सुत्केरी हुँदा ४ हजार ८ सय ११ जनाको शल्यक्रिया भएको हो ।

चालु आर्थिक वर्षको ४ महिनामा ४४.१२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका छन् । गत कात्तिकमा ३ हजार ७ सय ९८ सुत्केरी भएकामा १ हजार ६ सय ७६ को शल्यक्रिया गरेको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७६-७७ मा १२ हजार ६ सय ३२ सुत्केरी भएकामा ३ हजार ६ सय ३३ को शल्यक्रिया गरिएको  छ । यो तथ्याङ्क २८.७६ प्रतिशत हो । सो वर्ष ८ हजार ७ सय १० जनाको सामान्य तरिकाले शल्यक्रिया गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले बढेर ३४.९२ प्रतिशत पुग्यो । सो वर्ष ९ हजार ९ सय ७० सुत्केरी हुँदा ३ हजार ३ सय ९९ को शल्यक्रिया गरेका थियो । त्यसपछि आर्थिक वर्ष २०७८-७९ मा १२ हजार २ सय २१ सुत्केरी हुँदा ४ हजार २ सय ८ जनाको शल्यक्रिया गरेको हो । भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ ।

भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने पोख्रेलले बताएका छन् । उनले भने, ‘यहाँ बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका घटना आउँछन् । पचास प्रतिशत त ‘रिफरल केस’ नै हुन्छन् ।’ उच्च प्रश्रव पीडा र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पताल पठाउने गरेको उनले जानकारी दिएका छन् । उनले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने गरेको बताएका छन् । सम्पन्न परिवारका महिला प्रश्रव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहने बढिरहेको उनको भनाइ छ ।

यस्तै, भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा ५ जनाले ज्यान गुमाएका थिए । बच्चा जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । चालु आवको चार महिनामा २६ शिशुको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा १ सय ४ शिशुको मृत्यु भएको थियो । सो वर्ष जन्म भएपछि १६ र गर्भाअवस्थामा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्