‘अटिजम रोग होइन, समस्या हो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागमती प्रदेशमा १ हजार २ सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा ४ सय ९५, चितवनमा १ सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले त्यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित ४ हजार ८ सय ८६ जना रहेका छन् । मन्त्रालयका विज्ञ चिकित्सक डा.शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने १ सयमा १ जनामा गरी करिब ३ लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ ।

एक जना महिला बराबर चार जना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिएका छन् । उनले भने, ‘भौगोलिक अवस्था अनुसार हिमालमा ३ सय २८, पहाडमा २ हजार २ सय २९, तराईमा २ हजार ३ सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिएका छन् । गाउँमा १ हजार ७ सय २८ र सहरमा ३ हजार १ सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताएका छन् । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’ नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको जानकारी दिएका छन् ।

यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ । यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुर्नस्थापनाले सुधार गर्न सकिने जानकारी दिएका छन् । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताएका छन् ।

उक्त प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उनको भनाइ थियो । गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्