गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गाजामा सुरक्षित पिउने पानीको अभावले धेरै बालबालिकाको दुःखद मृत्यु हुन सक्ने युनिसेफका प्रमुख क्याथरिन रसेलले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का प्रमुख रसेलले गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण धेरै बालबालिकाको दु:खद मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् ।

युनिसेफकी कार्यकारी निर्देशक रसेलले भने, ‘पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो । गाजाका बालबालिकाले थोपा थोपा मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।’

करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाएको हो । गाजा पट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।

यस्तै, युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा अवरूद्ध अवस्थामा छ । युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएको छ ।

साथै, गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशत सरसफाईका सेवाहरू पनि क्षतिग्रस्त भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्