ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिनेछ: प्रधानमन्त्री दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बुधबार शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको जानकारी दिएका छन् । उनले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताएका छन् ।

उनले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ज्येष्ठ नागरिकले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको उनको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री दाहालले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्था प्रभावकारी बन्दै गएको बताएका छन् । उनले भने, ‘सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उनीहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिँदै आएको छ । आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु ।’

यसवर्षको दिवसको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ रहेको छ । प्रधानमन्त्री दाहालले यस दिवसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा उनले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकप्रति बधाई तथा शुभकामना प्रकट गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्