चुलोचौकोमा सीमित हुने महिला सहकारीको सहयोगमा आत्मनिर्भर हुँदै, आर्थिक र सामाजिक क्षेत्रमा अग्रसर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कुनै समय चुलोचौकोमै सीमित हुने महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन् । सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन् ।

लमही नगरपालिका-२ स्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिला आर्थिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि अग्रसर हुन थालेका छन् । उक्त सहकारीमा सात सय ३३ महिला आबद्ध छन् । ती महिलाले खाद्यान्न सङ्कलन, रासायनिक मल बिक्री, बीमा, बङ्गुरका पाठापाठी, खसीबोका, बेसार र मकैको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष अञ्जु चौधरीले बताएकी छिन् । उनले भनिन्, ‘अब महिला चुलोचौकोमा मात्रै सीमित छैनन् । आफैँ पनि आत्मनिर्भर हुन्छन् भनेर देखाउन हामी सहकारीमा आबद्ध भएका हौँ । अहिले हामी घरखर्चका लागि अरूको हात थाप्नुपर्ने अबस्थामा छैनौँ ।’

उक्त सहकारीको बचत ३ करोड ३० लाख ८३ हजार रुपैयाँ रहेको छ । सहकारीले कृषि, बाख्रापालन, व्यापार, शिक्षा, उपचार, पशुपालन, कुखुरापालनलगायत क्षेत्रमा कर्जा दिने गरेको गरेकाले सहकारीमा आबद्ध महिलालाई हरेक काम चलाउन सहज हुने गरेको सदस्य मधुलिका चौधरीले बताएकी छिन् । सहकारीले सामाजिक तथा सेवामूलक कार्य पनि गर्दै आएको छ ।

यस्तै, समाजमा कृत्रिम गर्भाधान कार्यक्रम, थुनेलो रोग परामर्श, जुकाको औषधि सहयोग, पिपिआर खोप, घाँसको बीउ वितरण, पशु स्वास्थ्य शिविर, आकस्मिक ऋण सहयोगलगायत कार्य पनि गर्दै आएको छ । साथै, आगामी दिनमा उत्पादित तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको छ ।

सहकारीलाई हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्रलगायतले सहयोग गर्ने गरेका छन् । विसं २०७१ फागुनमा २७ महिलाले उक्त सहकारी संस्थाको स्थापना गरेका थिए । तत्कालीन सोनपुर गाविस २, ३, ७ र ९ लाई कार्यक्षेत्र बनाएर स्थापना गरेको सहकारीले हाल लमही नगरपालिका-९ लाई कार्यक्षेत्र बनाएको छ । जसमा ३५ वटा समूह आबद्ध छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्