काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।
अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।