काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमाथि जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन्। सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
जनताको विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेका कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए। उनले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउ बल्झिँदै गएको बताए। माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको उनको भनाइ छ।
प्रचण्डले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएकाले माओवादी केन्द्र आत्मसमीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताए। काम गर्दै जाँदा केही कमजोरी भए पनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उनले दावी गरे।