वीरगंज नाकाबाट घट्यो डिजेल आयात,बढ्यो पेट्रोल पैठारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वीरगंज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ। चालु आर्थिक वर्षको ५ महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगंज भन्सार कार्यालयले जनाएको छ।

सो अवधिमा राजस्व संकलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ। आव २०८१/८२ को ५ महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको ३ लाख ६६ हजार ७ सय १९ किलोलिटर डिजेल आयात भएको थियो।

गत आवको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको ३ लाख ७० हजार ९ सय २० किलोलिटर डिजेल आयात भएको थियो। चालु आवको ५ महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ।

चालु आवको ५ महिनाको अवधिमा १६ अर्ब २१ करोड २ लाख २७ हजार रुपैयाँको १ लाख ८८ हजार ३ सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार रुपैयाँको १ लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो।

गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्वको आधारमा भने १२.५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ।

मोतिहारी(अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ। नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताए। रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्