छाडा पशुबस्तुले बजारक्षेत्र अस्तव्यस्त

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । मुख्य बजारक्षेत्रका सडक हुन् कि चोक बजार क्षेत्र महोत्तरीमा छाडा पशुबस्तुको जगजगी बढेको छ । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुबस्तु नगर क्षेत्रका चोक, बजार र बस्तीक्षेत्रमा छाडा विचरण गराउने प्रचलनले ट्राफिक समस्या र फोहरसमेत थपिएको छ । साँगुरो सडकमा छाडा गाईको पछि लाग्ने साँढे ढसमस्स बसिदिँदा सामान्य हिँडडुलमै समस्या परेको पैदलयात्री बताउँछन् ।

प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार, चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुबस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ ।

“बजार, चोकतिर हिँडडुल गर्न डरलाग्दो भएको छ, जताततै छाडा पशु देखिन्छन्”, जलेश्वर नगरको मुख्य बजारक्षेत्र शङ्कर चोककी देवरुपा देवी बताउँछन् , “तिखा सिंङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” जलेश्वर, सीतापुर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजारक्षेत्रमा छाडा गाई पछ्याउने साँढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । छाडा पशुले दैनिकरुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।

गाईबाहेक खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँच्वाँ’ गर्दै ५०-६० को सङ्ख्यामा आँगनआँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भइएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन घरभित्र पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक नजिककी बासिन्दा सुलेखा वर्मा बताउँछन् । गाईगोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भएपनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ ।

जिल्लाका सबैजसो नगर-गाउँ क्षेत्रमा छाडा पशुबस्तुका कारण सर्वसाधारण आजित भएका छन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा स–साना सवारीसाधन चलाउन र पैदलयात्रुलाई हिंड्नसमेत सकस पर्ने गरेको छ ।

“खै कसैले ध्यान दिदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो रु” भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्छन् , “नगरपालिका कार्यालयका हाकिम कानमा तेल हालेर सुत्या छन् ।” छाडा चौपायाको जगजगी नगरक्षेत्रमा बढी देखिने गरेको छ । यो जिल्लाको पुरानो समस्या भए पनि स्थानीयतह, स्थानीय प्रहरी प्रशासन र सामाजिक सङ्घसंस्थाबाट समस्या समाधानतर्फ कुनै पहलकदमी नदेखिएको सर्वसाधारणको गुनासो छ ।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंह छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउँछन् । “छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको तत्परता त हुनपर्छ”, सिंह भन्नुहुन्छ, “तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि बढाउनु पर्छ ।” घरपालुवा पशु छाडा गर्नेलाई कारवाहीको दायरामा ल्याउन स्थानीयतहले तत्काल काम थाल्नुपर्ने संयोजक सिंहको भनाइ छ ।

छाडा चौपायाले ट्रफिक समस्या बढेसँगै फोहर थुप्रिने र सर्वसाधारणको सुरक्षा चुनौतीसमेत बढेको गुनासो बाक्लिएपछि जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको बताएका छन् । “हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशु धनीलाई दण्ड जरिवाना गर्ने व्यवस्था गर्न लागेका छौँ ”, प्रमुख साहले भने , “कार्यालय नगरपालिका कार्यालय० कै तर्फबाट यससम्बन्धमा पहलकदमी बढाएका छौँ ।”

जिल्ला समन्वय समितिका संयोजक सिंहले छाडा पशु नियन्त्रणबारे जिल्लाभरिमै एकरुपता ल्याउन आवश्यक भएको बताएका छन् । “अब जिल्लाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच साझा नीति अख्तियार गर्न म पनि पहलकदमी लिनेछु ।”

जिल्लाका नगर क्षेत्रका सर्वसाधारणले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्