दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताएका छन् ।

सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताए ।

कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी दुई हजार २५८ मत प्राप्त रेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनःमतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

दोस्रो चरणको निर्वाचनको मतदान दिउँसो ३ः३० बजे सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्