बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् परीक्षण गर्ने भएको छ । केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ्ग गर्न थालिएको बताए । उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत् १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्न थालिएको हो । “बाथमुटुको रोग कति छ भनेर हेर्नका लागि हामीले परीक्षण गर्न थालेको हौं”, उनले भने , “आगामी सोमबार यही पुस ६ गते देखि विद्यालयमा नै गएर हामीले बालबालिकाको मुटुको परीक्षण गर्ने छौं ।”

उनले बालबालिकामा बाथ मुटुरोगको समस्या देखिने भएकाले स्क्रिनिङ् गर्न थालिएको बताए । सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उनले बताए । केन्द्रका मुटुरोग विशेषज्ञ डा कुन्जन शेर्पाको संयोजकत्वमा १२ जना टोली बनाएर प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गरिने छ ।

खेलाडीको पनि स्क्रिनिङ् गर्दा दुई जनामा मुटुको समस्या

यसअघि केन्द्रले अखिल नेपाल फुटबल महासङ्घ एन्फासँग मिलेर फुटबलका राष्ट्रिय खेलाडीको मुटुको अवस्थाको परीक्षण गरेको छ । उनले २०० जना खेलाडीको फुटबल खेल्नुभन्दा अगाडि मुटुको परीक्षण गरिएको बताए । “फुटबल खेल्नु भन्दा अगाडि खेलाडीको मुटुको अवस्था कस्तो छ । खेल्न सक्छन् कि सक्दैनन् भनेर हामीले मुटुको परीक्षण गयो” उनले भने , “परीक्षण गर्दा एक जनामा बाथमुटु रोग लागेको र अर्को एक जनाको मुटुमा प्वाल परेको थियो । ती दुई जना उपचारपछि घर फर्किसकेका छन् ।”

दुई जनामध्ये एकजना पुनः फुटवल खेलिरहेका र अर्का एक जना तीन महिनापछि फुटबल खेल्न सक्ने उनले बताए । मुटुको रोगका कारणले खेल्न सक्छ वा सक्दैन भन्ने परीक्षण गरिएको उनको भनाइ थियो ।

यस्तै केन्द्रले २०० शय्याको बालमुटु शय्या बनाउन थालिएको उनले जानकारी दिए । “डिजाइनको काम सुरु भएर निर्माणको प्रक्रियामा रहेको छ,” उनले भने । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्