इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो ।

जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर रु ५० लाख जुटाएको थियो । चालु आवमा भने रु एक करोड विनियोजन भएको छ । विनियोजित रकममध्ये रु ५७ लाख ९० हजार खर्च भएको छ । यसमध्ये रु ५३ लाख २४ हजार पूँजीगतमा र रु चार लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ ।

अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । अस्पतालमा सातौँ तहको एक नेत्र विषेशज्ञ, पाँचौँ तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ । यस आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ ।

आँखा अस्पतालको सेवा प्रारम्भ भएको नगरउपप्रमुख सुशीला नेम्वाङले जानकारीदिए । उनका अनुसार यस अस्पताल सञ्चालनपछि यस स्थानीय तह र जिल्लाका अन्य स्थानीय तहका बासिन्दाले समेत सेवा लिनसक्ने नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्