विद्युतीय कार’ बनाउने विद्यार्थीको समूहलाई सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

कैलाली । विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गरेका छन् ।

कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही सहयोग जुटाएर पुनः अरु विद्युतीय सामग्री निर्माण गर्ने ती विद्यार्थीको चाहना बमोजिम नगद रु पाँच हजार सहयोग गरे । विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि रकम जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको निर्माता बोहराले बताए ।

विद्युतीय कार निर्माणपश्चात् पहिलो पटक यसरी बाहिरबाट प्राप्त भएको सहयोगले अझ केही गर्ने हौसला थपिएको कार निर्माण गर्ने समूहका विद्यार्थी ऋषिकेश थापाले बताए । करिब दुई वर्षदेखिको अनुसन्धानका क्रममा रहेका ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको समूहले कवाडी सामग्री बटुलेर रु एक लाख ५० हजारको लागतमा विद्युतीय कार निर्माण गरेका हुन् ।

निर्माण गरिएको कारको नाम ‘सारा अल्फा’ दिइएको छ । चार महिना लगाएर निर्माण गरेको कारमा चालकसहित पाँचजना बस्न सक्ने क्षमता रहेको छ । गाडीमा सबै पार्टपूर्जा वेल्डिङ गरिएका छन् । कारमा चारवटा ब्याट्री जडान छन् । अहिलेको अवस्थामा ७० किलोमिटर टाढा जान सक्ने र सात क्विन्टल भार बोक्न सक्ने जनाइएको छ । —रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्