चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्ने स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाडौँ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा रहेका छन् । चिसो बढेसँगै जिल्लामा बसिरहेका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकाय प्रमुख र सम्बन्धित कार्यालयका प्रमुखसहित हुम्डे एयरपोर्टको भौतिक संरचना तथा अवस्थाको निरीक्षण अनुगमन गरिएको छ । हिमपातका कारण उक्त संरचनाको मर्मतसम्भार तथा सदुपयोग गर्ने उपायका बारेमा तत्काल खोजी र प्रारम्भ गर्ने निष्कर्षमा पुगेको उनले बताए ।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्यटन तथा स्थानीय जनजीवनको अवस्था, हिमपात र चिसो बढेपछिको प्रभाव एवं स्थानीयवासीको दैनिकी र प्रहरी तथा निजामती कर्मचारीको स्थितिको अवलोकन गरिएको उनले बताए । साथै पर्यटकीय पदमार्ग चामेबाट तलेखु, भ्राताङ, ढिकुरपोखरी, पिसाङ, ग्रीन ताल, सीमा प्रहरी चौकी हुम्डे, मुङ्जे, भ्राका, मनाङ र टङ्की मनाङसम्मको अनुगमन पनि गरिएको आचर्याले बताए ।

उनले भने , “पर्यटक आउने क्रम जारी रहेको तर तिलिचो तालतर्फ जान भने पाइएन ।” अमेरिकन तथा रसियनलगायत देशका पर्यटकले अनुभवी गाइड एवं शेर्पालाई साथमा लिई थोराङ्ला पासतर्फ जाने क्रम जारी रहेको र बङ्गाली पर्यटक भने यात्रा अघि नबढाई फर्किएको पाइएको उनले बताए । ग्रिनलेकबाहेकका ताल एवं छहरा तथा साना खोलाखोल्सामा बग्दै गरेको पानी पूर्णरूपमा जमेको र घाम लागेसँगै पग्लिएर बग्ने गरेको पाइएको आचार्यको भनाइ छ । मनाङवासीको जनजीवन भने सामान्य रहेको उनले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्