पालिकाको सक्रियतासँगै बढे बराह तालमा पर्यटक

Ad
  • कालोपाटी सम्बाददाता

प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

तमानखोला गाउँपालिका२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ ।

केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गर्न थालेको छ ।

धार्मिक महत्व समेत रहेको बराह तालमा संरक्षण र प्रचारका लागि यसवर्ष गण्डकी प्रदेश सरकारले रु ८० लाख र तमानखोला गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताए  ।

बराह ताल जिल्लाकै राम्रो ताल हो, विगतमा प्रचारप्रसार र पूर्वाधारको अभावमा सुनसान जस्तै थियो”, उनले  भने , “अहिले गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका छन्, आगामी वर्षदेखि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढेको बताए  । गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसार बढाएपछि जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उनको  भनाइ छ ।

यस क्षेत्रमा पहिले वैशाखे पूर्णिमाको समयमा बाहेक खासै चहलपहल हुँदैन्थ्यो, त्यो बेलामा नजिकैको सिद्ध बराह मन्दिरमा पूजा हुन्थ्यो”, उनको  भने  । तालसम्म पुग्ने सडक बनेपछि मुठाचौरका स्थानीयलाई सहज हुने र पर्यटक बढ्ने उनको  भनाइ छ । तालसम्म पुग्ने सडक निर्माणका लागि गाउँपालिका समक्ष आग्रह गरिएको उनले  बताए  ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्ग निर्माण र ताल नजिकसम्म मोटरबाट पु¥याउने काम हुने बताए  । गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिए  ।

अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरु निर्माणको सुरुवात गरेका थियौँ”, उनले  भने , “पालिकाको गुरुयोजना नै बनाएर ताललाई पर्यटकीय केन्द्र बनाउने अभियान छ ।” तालमा पर्यटक आकर्षित गर्न गाउँपालिकाले प्रबद्र्धनात्मक काम गर्दै आएको छ ।

यस क्षेत्रमा ‘पिकनिक स्पट’, बगैचालगायत पर्यटकलाई थप आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्ष बुढा मगरले यस वर्ष यहाँ धेरै पूवार्धार तयार हुने बताए  ।

ताल नजिक रहेको मुठाचौर बस्नका लागि उपयुक्त स्थान भएकाले पर्यटकका लागि खाना, बस्न र आरामका लागि ‘होमस्टे’ तथा ससाना होटलहरु बनाउने योजानासमेत रहेको उहाँको भनाइ छ । अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी र शौचालयको व्यवस्थापन भइरहे पनि खाजा र खानाका लागि समस्या रहेको बुढा मगरले बताए  ।

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । जसका कारण वैशाखे पूर्णिमाको समयमा बागलुङका विभिन्न स्थानका साथै गुल्मी, प्युठान, अर्घाखाँचीबाट पनि भक्तजनहरु पूजाआजा गर्न आउने गरेका छन् । यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका दर्जनौँ हिमश्रृङ्खला देख्न सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्