गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुने भएको छ । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको हो ।
खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या-पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । राजधानी काठमाडौँ बाहिरको सर्वाधिक पुरस्कार राशिको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छौटौँ संस्करण आगामी माघ २७ गतेदेखि सुरु हुनेछ । मध्यविन्दुको राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ पुरस्कार हात पार्नेछ ।
यस्तै, प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिएकममा छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ टोली, आयोजक नवलपुर जिल्लासहित ‘ए’ डिभिजनका फुटबल क्लब, गण्डकी लुम्बिनी, मधेस र बागमती प्रदेशबाट चार टोलीसहित १२ टोलीको सहभागिता रहने भण्डारीले जानकारी दिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विगत दुई दशकदेखि सञ्चालित राइनो कप फुटबल प्रतियोगिताको परिस्कृत र परिमार्जित अवधारणाको राष्ट्रियस्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालदेखि सञ्चालन गरिएको थियो । जिल्लाको मध्यविन्दु-२ कोल्हुवास्थित राइनो कप खेल मैदानमा बर्सेनि हुने प्रतियोगिता विगतमा कोरोना महामारीको सङ्क्रमणका कारण स्थगित गरिएको थियो ।
आयोजकले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि खेलकुद परिषद्को सहयोग रहने बताएका छन् । मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले स्थानीय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको निरन्तरता र विकासका लागि नगरपालिकाकोतर्फबाट सहयोग रहने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्