चियाको उर्वरभूमिका किसान धानखेतीमा आकर्षित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सूर्योदय नगरपालिका-१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाएका छन् । चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

नगदे बालीसहित दूध, चियालगायत कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको लक्ष्य लिएको सूर्योदय नगरपालिकाले चियाको न्यूनतम मूल्य तोकेर मूल्य र गुणस्तरमा एकरुपता ल्याउन पहल गरे पनि कार्यान्वयन हुन नसकेपछि आफूहरू वैकल्पिक खेतीप्रति आकर्षित भएको किसान गिरिज घिसिङले बताएका छन् । टीकाराम अधिकारीले भने, ‘अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल गर्ने बेला भयो ।’

यस्तै, ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको छ । गत वर्ष ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत वृद्धि भएको छ ।’ केन्द्रप्रमुख बर्देवाका अनुसार यस वर्ष धानको उत्पादकत्व बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । किसानले चिया मासेरै धानखेती लगाएका छैनन् ।  तर, चियामा लगाउने मेहनतचाहिँ धानखेतीमा बढाएको पाइन्छ ।

यस्तै, सूर्योदय नगरपालिकाका गोविन्द सापकोटाले आधा खेत मासेर पोहोर उत्तिस लगाएका थिए । उनी भन्छन्, ‘चियाखेतीमा राम्रै होला भनेर खेत मासियो चियाको मूल्यले निराश बनायो आधा खेतलाई वर्षभरि मलजल गरेकाले राम्रै धान उत्पादन भएको छ ।’ जिल्लामा गत वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार ८१० हेक्टर क्षेत्रमा मात्र धान लगाएको सरकारी तथ्यांक छ ।

इलामको सूर्योदय नगरपालिकामा सबैभन्दा बढी चियाखेती हुने गरेको छ । जिल्लाका इलाम, माई र देउमाई नगरपालिकाका अधिकांश किसान चियाखेतीमा आबद्ध छन् । विसं १९२० मा इलामबाट चियाखेतीको व्यावसायिक सुरुआत भएको मानिन्छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएको र उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापालाई दिएपछि थापाले इलामको माटोमा चियाको बोट रोपेको इतिहास छ ।

त्यसपछि पूर्वी पहाडका पाखापखेरामा चियाखेती हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय चियामा समस्या झेल्नुपरेका कारण खेती विस्तार हुनसकेको छैन । फलस्वरुप कतिपय किसानले छाडिसकेको धानखेतीलाई नै जीविकोपार्जनको माध्यम बनाउन थालेका छन् । चियाको राजधानी भनेर चिनिने इलाममा चिया किसानलाई सधैँ हरियो पत्तीको मूल्यकै समस्या हुने गरेको छ । हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएकाकारण समस्या भोगिरहेका छन् ।

त्यस्तै, उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार गर्न छाडिसकेका छन् । उद्योगी भने गुणस्तरीय चिया नहुँदा पर्याप्त मूल्य दिन नसकेको बताउँछन् । किसानले उन्नत बीउबिजनको प्रयोग गरी मल र सिँचाइको व्यवस्थापन गरेकाले क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि भएको छ । चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको सबै ठाउँमा धानखेती हुँदै आएको छ । जसमध्ये माई, इलाम, देउमाई नगरपालिका, चुलाचुली र माङ्सेबुङ गाउँपालिका धानखेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छन् । जिल्लामा स्थानीय चुल्ठे भँगेरे, हर्दिनाथ-१, राधा-१२, मनसुली, मकवानपुर-१, चिराँखे, बेलगुठी जातका धान रोप्ने गरिन्छ । पछिल्लो समय रामतुलसी, ननिया र सावित्री जातका धानसमेत रोप्न थालिएको इलाम नगरपालिका-१० गोदकका किसान गोपाल अधिकारीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्