पोखराको पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता, कार्बन डाइअक्साईड मापन गर्न विद्यालयमा डिभाईस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वातावरणीय साक्षरता दिलाउन पोखराको पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता भएको छ । वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको अवस्था र वातावरण सम्बन्धि साक्षरता फैलाउने गरी पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता भएको हो ।

नेपालमा उक्त सम्झौता पहिलो पटक भएको हो । वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययन सुरु भएको छ । पोखरा, काठमाडौँ, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत उक्त ठाउँको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको मापन गर्ने र विद्यार्थीमार्फत सचेतना फैलाउने कार्यक्रम सुरु भएको हो ।

यस्तै, विश्वविद्यालयका तर्फबाट प्राध्यापक मासाकाजु इथो र पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पोखरा क्षेत्रमा पश्चिमाञ्चल माविमार्फत पोखराका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम र वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको मोनिटरिङ पनि गरिने प्राचार्य कोइरालाले बताएका छन् । नेपालमा पहिलोपटक विद्यालयस्तरमा गरिने सो अध्ययनले त्यस क्षेत्रको वायुमण्डलमा रहेको कार्बन डाईअक्साईडको अवस्था थाहा हुने उनले जानकारी दिएका छन् ।

जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थबारे अध्ययन गर्न थालेको हो । साथै, विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने काम गर्ने विश्वविद्यालयले जनाएको छ । जलवायु परिवर्तनको असर नेपालमा कत्तिको परेको छ र वायमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्था कस्तो छ भन्ने बुझ्न पनि यो अध्ययनले सघाउने विश्वविद्यालयका प्राध्यापक इथोले बताएका छन् ।

प्राध्यापक इथोले भने, ‘जलवायु परिवर्तनको असर नेपालमा कस्तो छ भन्ने बुझाउनका लागि यो सबैभन्दा सहज माध्यम हुनेछ । जलवायु परिवर्तनको असर कर्म गर्नका लागि चाल्नुपर्ने कदमबारे विद्यार्थीलाई पनि सिकाइनेछ । यसले समूदायमा वातावरण सम्बन्धि साक्षरता पनि बढ्नेछ ।’ पोखरामा पश्चिमाञ्चल मावि, अमरसिंह नमूना मावि र लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा यो अध्ययन गरिने उनले जानकारी दिएका छन् । त्यसको अगुवाई पश्चिमाञ्चल माविले गर्नेछ ।

त्यस्तै, अध्ययनका क्रममा वायुमण्डलको कार्बन डाईअक्साइड मापन गर्नेगरि विद्यालयमा डिभाइस पनि राखिनेछ । त्यो डिभाइसले १० किलोमिटर परिधिभित्रको वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्ने उनले बताएका छन् । उनले भने, ‘वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विद्यार्थीलाई बेलाबेलामा जानकारी गराउन पाइनेछ । त्यसबाहेक बोट विरुवाको नजिक डिभाइस राख्दा आउने परिवर्तन पनि बुझाउन सकिनेछ । विद्यालय परिसरमा बोटविरुवाको भूमिकाबारे पनि विद्यार्थीले बुझ्नेछन् भने यसले उनीहरुमा वातावरण संरक्षण सम्बन्धि सचेतना पनि बढाउनेछ ।’

यसले पोखराको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे पनि थाहा हुने उनको भनाई छ । प्राध्यापक इथोका अनुसार जापान सरकारले यो कार्यक्रम नेपालबाहेक अन्य मूलुकका पनि लागु गरेको छ । यो कार्यक्रम जापनासँगै भियतनाम, ताइवान र इन्डोनेसियामा यसअघि नै लागु भएको हो । नेपालमा पोखरा, काठमाडौँ, बुटवल र बर्दियाका विद्यालयमार्फत कार्यक्रम गरिनेछ । वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको परिवर्तनबारे पनि बुझाउन सकिने उनले बताएका छन् । नेपालका ठाउँ-ठाउँमा गरिएको अध्ययनले भविश्यमा वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विश्वलाई बुझाउन सकिने पनि उनको भनाइ छ ।

पश्चिमाञ्चल माविका प्राचार्य कोइरालाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे बुझाउन आवश्यक रहेको बताएका छन् । उनले भने, ‘जलवायु परिवर्तनले पारेको असरबारे अहिले समुदायमस्तरमा खासै वास्ता छैन । बालबालिकामार्फत अभिभावकसामु सचेतना फैलाउन सके मात्र यो समस्यासँग जुध्न सकिन्छ । यो अध्ययनले नेपाल सरकारलाई पनि सजग गराएर जलवायु परिवर्तनको असरबारे बुझाउनका लागि कार्यक्रम गर्न झक्झकाउनेछ ।’

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राध्यापक डा.रामनाथा ओझाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे समुदाय बेखबर रहेकोले बालबालिकामार्फत अभिभावकलाई सजग गराउनुपर्ने बताएका छन् । उनले भने, ‘जलवायु परिवर्तनको असर, वायुमण्डलमा फैलिएको कार्बन डाईअक्साइडको असर जनमानसमा परिसकेको छ । तर, समुदाय बेखबर छ । बेलैमा सचेत नहुने हो भने आगामि पुस्ताले जलवायुको असर अझै धेरै खेप्नुपर्ने हुन्छ । त्यसैले यसबारेमा सचेत हुनुपरेको हो । विद्यालयका बालबालिकामार्फत फैलाएको साक्षरता अभियान बढी प्रभावकारी पनि हुनेछ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्