नवविवाहित दम्पतीद्धारा विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर सञ्चालन, शिविरमा ४ सयभन्दा बढी बिरामी सहभागी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गुल्मीमा नवविवाहित एक दम्पतीले विवाहमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका छन् । रेसुङ्गा नगरपालिका-३ अन्तर्गत भाडगाउँका सञ्चारकर्मीसमेत रहेका मोहन बस्नेतलले विवाहको भोजमा हुने फजुल खर्चबाट गाउँमा गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

पछिल्लो समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न भोजभतेरमा गर्ने खर्च सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरुले त्यस्तो योजना बनाएको उनले बताएका छन् । बस्नेतले आफ्नो जन्मभूमिमा थोरै भए पनि सेवा गर्नुपर्छ भन्ने सोचले विवाहमा तडक भडक गर्नाको साटो जोगाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिएका छन् ।

यस्तै, शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञद्वारा नि:शुल्क परीक्षण गराएका थिए । शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नाका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त नि:शुल्क औषधिसमेत वितरण गरेका थिए । विवाहकोे भोजमा हुने फजुल खर्च बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरिब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताएका छन् ।

उनले यस्ता सामाजिक कार्यले आउँदो दिन अरुलाई पनि थप प्रेरणा मिल्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह हुने उल्लेख गरेका छन् । आफ्नै घरदैलोमा आएर विशेषज्ञसहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीयवासी पम्फा विश्वकर्माले बताएकी छिन् । उनले यस्ता प्रकारका पुण्य कामबाट आफूहरुजस्ता धेरैलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनुभन्दा मानिसको उपचार गर्नु ठूलो धर्म रहेको जानकारी दिएकी छिन् ।

उक्त शिविरमा ४ सयभन्दा बढी बिरामी सहभागी थिए । सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायलाई सहयोग गर्दै आएका थिए । त्यसैगरी, रेसुङ्गा नगरपालिका-११ राङ्बासका गुणाखर पाण्डेले विवाहमा हुने फजुलखर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन् ।

उनले स्थानीय भगवती मावि र राङ्बास माविलाई ५०-५० हजार रुपैयाँको अक्षयकोष स्थापनाका लागि सहयोग उपलब्ध गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्