काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीले उडान नगर्ने भनेपछि उड्डयन नियामकले छलफलमा बोलाएको छ । युनाइटेड अरब इमिरेट्स (यूएईर्) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले मौसमको कारण देखाउँदै उडान स्थगन गर्ने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएका थिए ।
भैरहवामा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवाको पत्राचारपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उनीहरूका नेपालस्थित प्रतिनिधिलाई छलफलमा बोलाएका छन् ।
उडान स्थगनबारे थप छलफल गर्न कुवेतको जजिरा एयरवेजका नेपालस्थित प्रतिनिधिलाई दिउँसो ४ बजे बोलाएको अधिकारीले जानकारी दिए । हाल भैरहवा विमानस्थलमा फ्लाई दुबई र जजिराले दैनिक एक तथा थाई एयर एसियाले सातामा एक उडान गरिरहेका छन् ।