काठमाडौं । सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी र संगठनको नेतृत्वमाथि सार्वजनिक रूपमा निरन्तर अमर्यादित आरोप र दबाब सिर्जना गरेको भन्दै जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले जनप्रतिनिधिको गरिमामय पदमा रहेका सांसदबाटै समग्र प्रहरी संगठन र नेतृत्वको मानमर्दन गर्ने, धम्क्याउने र तर्साउने कार्य हुनु निन्दनीय भएको बताएका छन् ।
उनले यस किसिमको हर्कतलाई ‘सत्ताको आडमा हुने दादागिरी’ को संज्ञा दिँदै प्रहरी नेतृत्वमाथि सार्वजनिक लाञ्छना लगाइँदा समेत सरकार र सत्तारूढ दल मौन बस्नुले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।
‘कुनै पनि विषयमा सत्यतथ्य पत्ता लगाउन अनुसन्धानका स्थापित विधि, प्रक्रिया र कानुनी प्रावधानहरू हुन्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तर स्थापित विधिलाई बेवास्ता गर्दै सांसद आफैँ अनुसन्धानकर्ता र न्यायाधीशजस्तो बनेर सार्वजनिक रूपमा लाञ्छना लगाउनु कानुनी शासन र न्याय प्रणालीमाथिकै चुनौती हो ।’
सांसद पद कसैलाई तर्साउने वा शक्ति प्रदर्शन गर्ने माध्यम नभई जनताको आवाज उठाउने र राज्यका संस्थाहरूको मर्यादा कायम राख्ने जिम्मेवार ओहदा भएको स्मरण गराउँदै सोडारीले जनप्रतिनिधिले आफ्ना अभिव्यक्तिमा संयम र उत्तरदायित्व देखाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय राजनीतिक दबाब र हस्तक्षेपका कारण प्रहरीको व्यावसायिकता, स्वायत्तता र कार्यक्षमतामाथि आँच पुगेको उनको ठहर छ।
अभियन्ता सोडारीले सांसद सुनारलाई प्रहरी संगठन तथा नेतृत्वमाथि अमर्यादित भाषा प्रयोग गर्ने र दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
साथै, कानुनभन्दा माथि कोही नभएको स्पष्ट पार्दै उनले प्रहरी प्रमुख वा कुनै पनि अधिकारीबाट गलत कार्य भएको भए स्थापित कानुनी प्रक्रियाअनुसार निष्पक्ष र स्वतन्त्र छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
तर, प्रश्न उठाउने बहानामा संस्थाको मानमर्दन गर्ने र कानुनी प्रक्रियालाई प्रभावित पार्ने छुट कसैलाई पनि नहुने सोडारीको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्