दुई करोडको लागतमा त्रिशूली नदीमा जिपलाइन सञ्चालन गरिने, आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

मुग्लिन । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले दुई करोडको लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले बताउनुभयो । हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि निर्माण सुरु गरिएको हो । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार चार सय ८० मिटर लामो उक्त जिपलाइन निर्माण सम्पन्न भएपछि ३५ देखि ४० सेकेन्डमै पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टारमा रहेको रिभर फन विच रिसोर्ट पुग्न सकिनेछ ।

गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

चितवनको इच्छाकामना–३ का स्थानीयवासी प्रमोद पोखरेलले जिपलाइन सञ्चालनपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाकामा विशेषगरी आन्तरिक पर्यटकहरुको आवागमनमा वृद्धि हुने बताउनुभयो ।

यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उहाँको भनाइ छ ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन विच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको रिसोर्ट हो । रिभर फन विच रिसोर्टले पर्यटकका लागि र्याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्टलगायत सुविधा दिँदै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकहरुको आवागमनमा वृद्धि हुने उहाँको भनाइ छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्