नगरपालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण, बैंक खातामै चौमासिकरूपमा रकम भुक्तानी गरिने

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङ नगरपालिकाले प्राविधि शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई मासिकरूपमा छात्रवृत्ति उपलबध गराउन थालेको छ । नगरपालिकाले ‘गोविन्द अधिकारी व्यावसायिक छात्रवृत्ति’ कार्यक्रम मार्फत रकम उपलब्ध गराउन सुरुआत गरेको हो । तीन वर्षअघिदेखि नै नीति तथा कार्यक्रममा राखेको उक्त कार्यक्रम कार्यविधि बनाइएको थियो ।

गत वर्षदेखि वितरण गर्ने भने पनि कोरोनाका कारण यस वर्षदेखि सामुदायिक विद्यालय तथा प्राविधिक धारमा अध्ययनरत २७ विद्यार्थीलाई मासिक छात्रवृत्ति वितरण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । कक्षा ९ र १० मा अध्ययन गर्नेलाई मासिक एक हजार र कक्षा ११, १२ र डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक दुई हजारका दरले रकम उपलब्ध गराइने छ ।

आगामी दिनमा विद्यार्थीको बैंक खातामै चौमासिकरूपमा छात्रवृत्ति भुक्तानी गरिने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘ पूर्व सांसद स्व गोविन्द अधिकारीको सम्मानमा’ नगरपालिकाले जेहेन्दर विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने अभिप्रायले तीन वर्षअघिदेखि कार्यक्रम ल्याएको हो ।

“यसले यस वर्षबाट सार्थकता पाएको छ, कार्यविधि बनाउन समय लाग्यो र लगत्तै कोरोना कहर भएकाले ढिलै भए पनि छात्रवृत्ति वितरण गर्न थालेका छौँ”, उहाँले भन्नुभयो “ प्लस टु पास गर्ने विद्यार्थी छात्रवृत्तिको सूचीबाट घट्ने र कक्षा ८ पास गरेका विद्यार्थी कार्यविधिअनुसार छनोटमा पर्नेछन्, सङ्ख्यात्मकरूपमा आगामी वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै जाने छ ।”

छात्रवृत्ति कार्यक्रमबाट भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । छात्रवृत्ति पाउँदा आफूलाई अध्ययनमा धेरै सहयोग पुग्ने धवलागिरि प्राविधक प्रतिष्ठानमा अध्ययनरत संरचना विकले जानकारी दिनुभयो ।

मङ्गलबार सङ्घीय सांसद मनकुमारी केसी, नगर प्रमुख पौडेल तथा स्व अधिकारीकी श्रीमती भीमा अधिकारीलगायतले २७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभएको थियो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्