काठमाडौंका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् ।

सुरु गर्न बाँकी रहेका दुई स्थानीय तहले यही शैक्षिक सत्रदेखि लागू गर्नेगरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगारपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ स्थानीय तहले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् ।

काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेका छन् । काठमाडौं महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा हाल पठनपाठन भइरहेको छ ।

नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो । काठमाडौँका अन्य स्थानीय तहले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सृजना गरी विद्यालयमा पठाएको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।

अधिकांशको पहिचान मठमन्दिर र धर्म संस्कृति

पढाउन सुरु गरिसकेका र तयारीमा रहेका सबै स्थानीय तहका पाठ्यक्रमको मुख्य विषयवस्तु आफ्नो क्षेत्रको धर्म संस्कृति, भाषा, रहनसहन, पर्यटकको आकर्षक केन्द्र ऐतिहासिक सम्पदा र उद्यान रहेको छ । आ–आफ्नो स्थानीय तहमा रहेको ऐतिहासिक सम्पदाको पहिचान गराई तिनको संरक्षणमा सन्ततिलाई जिम्मेवार बनाउने उद्देश्यका साथ पाठ्यक्रम लागू गरिएको शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराउनुभयो ।

चन्द्रागिरि नगरपालिकामा निजी र सामुदायिक गरी ८० विद्यालय छन् । ती सबै विद्यालयमा अहिले चन्दागिरिको पहिचान झल्कने ‘हाम्रो चन्दागिरि’ नामको पुस्तक पठनपाठन भइरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी गराउनुभयो ।

काठमाडौं महानगर र कीर्तिपुरले छाने नेपाल भाषा

काठमाडौं जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए पनि कीर्तिपुरमा भने हालसम्म सुरु गरेको छैन । कोरोना महामारी केही कम भए पनि मात्र पठनपाठन सुरु गर्ने तयारी नगरपालिकाको छ ।

कला, धर्म संस्कार र संस्कृति नै काठमाडौं उपत्यकाको पहिचान रहेको भन्दै कामपा र कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्क्रम पठनपाठनका लागि नेपाल भाषा छनोट गरेका छन् । कामपा प्रमुख विद्यासुन्दर शाक्य काठमाडौँ नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको बताउनुहुन्छ ।

कामपाको पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौँ महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, समाजलाई योगदान पु¥याएका विशेष व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउनुहुन्छ । यी दुवै स्थानीय तहका पाठ्यक्रममा नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । “बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ,” कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भन्नुभयो, “कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।”

स्थानीय विषय पठनपाठनका लागि कामपामा १७२ शिक्षक नियुक्त

यस विषय पठनपाठन गर्नका लागि कामपाले आफू मातहत रहेका सामुदायिक विद्यालयमा एक सय ७२ नयाँ शिक्षक नियुक्ति गरेको छ । कामपाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयमा सेवा करारअन्तर्गत नियुक्त गरेको हो । यसरी नियुक्त गरिएको शिक्षकको हरेक एक वर्षमा समयावधि थप गर्ने व्यवस्थाअनुरुप शिक्षक राखिएको हो ।

सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरी दुवैलाई अनिवार्य लागू गरे पनि नयाँ शिक्षक भने सामुदायिक विद्यालयमा मात्र पठाएको छ । निजीका शिक्षकलाई भने कामपाले आवश्यकताअनुरुप तालिमको व्यवस्था गरिदिएको छ । कामपामा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । हाल यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार सात सय ९१ शिक्षक कार्यरत छन् । कामपाले यसरी नयाँ दरबन्दी नै सृजना गरी शिक्षक राखिरहँदा काठमाडौँकै धेरै स्थानीय तहले भने आफूसँग साधन स्रोतको कमी रहेकाले पुरानै शिक्षकबाट पठनपाठन गरिरहेको बताएका छन् ।

स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाहरुको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिने योजना हो । स्थानीय भन्ने बित्तिकै स्थानीय व्याक्तिको आवश्यकता, विषयवस्तु तथा निर्माणमा स्थानीय विज्ञ वा व्याक्तिको संलग्नता रहन्छ । स्थानीय पाठ्यक्रम विद्यालय, समुदायभित्र रहेका व्याक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, वेशभूषा, पेसा आदिसँग सम्बन्धित रहेर निर्माण गर्नुपर्दछ ।

त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । स्थानीयस्तरमा लुकेर रहेका ज्ञान सीपलाई पुनः उजागर गरी आधुनिक सभ्य मानिएको विश्व समाजलाई चिनाउन तथा नेपालीको प्रत्यक्ष जीवन पद्धतिसँग जोडिएर रहेका विषयहरु अगाडि ल्याउन स्थानीय पाठ्यक्रम अति आवश्यक छ । स्थानीय पाठ्यक्रमले नेपालमा रहेका विविधतालाई चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ ।-रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्