भैरहवाद्वारा चितवन छ विकेटले पराजित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्स चितवन टाईगर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको छ । चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक÷एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो । भैरहवाले भने तेस्रो जीत हात पारेको हो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन जोड्दा कमलसिंह ऐरी सात रनमा अविजित रहे । भिस सार्की १६, राजेश पुलामी १४, दिलीप नाथ १३, देव खनाल पाँच र खडक बोहरा एक रनमा आउट भए ।

भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक-एक विकेट लिए । अघिल्ला चार खेल जितेर आठ अङ्क बटुलेको चितवन अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् छ । तीन जीतबाट छ अङ्क बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ । -रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्