चाडपर्वका बेला सुरक्षा व्यवस्थामा कडाइ, बजारदेखि गाउँसम्म प्रहरीको गस्ती परिचालन

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । चाडपर्वका बेलामा जिल्लाभित्र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बजारदेखि गाउँसम्म प्रहरीको गस्ती टोलीलाई प्रभावकारीरूपमा परिचालन गरिएको र अवाञ्छित गतिविधि हुनसक्ने संवेदनशील क्षेत्र पहिचान गरी सादा पोशाकका प्रहरीलाई पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

“आम नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिनका लागि प्रदेशबाट थप जनशिक्त ल्याएर परिचालन गरेका छौँ”, उनी भन्छन्, “चौबीसै घण्टा प्रहरीको टोली परिचालित छ ।” जुवातास र अवैधरूपले ल्याइएका मदिराको कारोबार रोक्नका लागिसमेत सक्रिय भएर काम गरिरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा सुरक्षित यात्राका लागिसमेत प्रहरीे टोली परिचालन गरेर यात्रुबाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा लिनेलाई निरुत्साहित गर्नाका साथै मापसे जाँच पनि भइरहेको उनको भनाइ थियो । मातहतका प्रहरी युनिटमा नागरिक सहायता कक्ष सञ्चालन गरी नागरिकका गुनासा तथा उजुरीका आधारमा कारबाही गर्न थालिएकोे र सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरीले चालकलाई सचेत पार्दै आएको छ ।

दसैँ, तिहार र छठपर्वका बेला विगतको तुलनामा पैदल, गाडी र सादा पोशाकमा प्रहरीलाई परिचालन गरी शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ थियो । “सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको व्यवस्था गरी जाँचलाई अगाडि बढाएका छौँ”, उनी भन्छन्, “गड्डाचौकी र त्रिनगर सीमानाकामा कुकुरसहितका प्रहरीको टोली परिचालन गरिएको छ ।”

भारतबाट अबैधरूपमा ल्याइने विष्फोटक पदार्थ, हातहतियारलगायत सामग्री भित्रिन नदिन सीमा क्षेत्रमा कुकुरसहितको टोली परिचालन गरिएको र बैंक तथा वित्तीय संस्था र सुन–चाँदी पसलको सुरक्षाका लागि सम्बन्धित निकायलाई सचेत पारिएका प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । “सिसीटिभीको व्यवस्थासँगै सुरक्षाको बलियो प्रबन्ध गर्नका लागि बैंक तथा वित्तीय संस्था र सुन, चाँदी पसल सञ्चालकलाई यसअघि नै आग्रह गरेका छौँ”, उनी भन्छन्, “प्रहरीले पनि ती क्षेत्रमा विशेष निगरानी राख्ने काम गरिरहेको छ । सार्वजनिक संघसंस्थाको सुरक्षाका लागि समेत प्रहरीको टोलीले काम गरिरहेको छ । ”-रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्