राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।राजधानीमा आजदेखि सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी १४. २ ओभरमा जम्मा २३ रनमा समेटियो । गण्डकीका सात खेलाडीले खाता खोल्न सकेनन् । गण्डकीका अर्जुन कुमालले १७ बलमा १ चौकासहित सर्वाधिक ६ रन बनाए ।

त्यस्तै विष्णु पाण्डे ५ तथा सचिनराज अधिकारीले २ रन बनाए । बलिङतर्फ तीव्रगतिका बलर मोहम्मद हसैनले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ७ विकेट लिए । त्यस्तै दुर्गेश गुप्ता र वासिर अहमदले एक एक विकेट हात पारे । २४ रनको विजयी लक्ष्य पछयाएको लुम्बिनीले ५ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाए । विराट भण्डारी ८ रनमा अविजित रहे । लुम्बिनीले दोस्रो खेलमा भोलि कर्णालीसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्नेछ । बुधबारनै हुने अर्को खेल मूलपानीमा गण्डकी प्रदेशले वाग्मती प्रदेशसँग खेल्नेछ । – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्