‘महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता दिएको छ’ : मन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले सङ्गठित तथा असङ्गठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताए । रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकाले उनीहरूका समस्या सम्बोधन गरिने बताए ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा सहभागी वक्ताहरूले विद्यमान ऐन–कानूनको प्रभावकारी कार्यान्वयनका साथै महिलामा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्