इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।

उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायतका स्थानमासमेत वर्षासहित हिमपात भएको छ । हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको स्थानका स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको स्थानीयवासी दिनेश ढकालको भनाइ छ ।

उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ । तर जाडो बढे पनि पटकपटकको हिमपात र वर्षाले किसानलाई भने राहत मिलेको छ । यस सिजनमा वर्षा हुँदा उब्जनी बढ्ने किसानको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्