एमसिसी सम्झौता कार्यसूचीमा समावेशप्रति माओवादीसहितका दलको विरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र सहित तीन राजनीतिक दलहरुले सदन अवरुद्ध भइरहेका अवस्था र राजनीतिक दलहरुमा राष्ट्रिय सहमति नभएको अवस्थामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीबीच भएको अनुदान सहायता सम्झैता’ संसद्को कार्यसूचीमा अगाडि बढाइएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र सांसद् डा भीमबहादुर रावलले एमसिसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हितविरुद्ध भएकाले संशोधनबिना संसदमा टेबुल गर्न नहुने भनी विरोध जनाए ।

प्रमुख सचेतक गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसिसी सम्झौता टेबुल गर्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको बताए । संसद् अवरुद्ध भइरहेको अवस्थामा संसद्मा महत्वपूर्ण विषयमाथि छलफल हुन नसक्ने र एमसिसीका राष्ट्रिय हित विपरीतका प्रावधान संशोधन गरेर मात्र सहमतिका आधारमा अगाडि बढाउनपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले बताए । “कार्यव्यवस्था परामर्श समितिमा हामीले अहसमति दर्ता गरेका छौँ, संसद् अवरुद्ध भइरहेको अवस्थामा सदनमा छलफल चलाउन गाह्रो छ, सदन खुलाएर छलफलको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु”, उनले भने । नेकपा एमालेका नेता एवं सांसद रावलले नेपालको संविधान र कानुनमाथि आघात पर्ने एमसिसी सम्झौताको केही प्रावधानका बारेमा राजनीतिक दलका बीचमा सहमति नभइ यो कसरी टेबुल भयो भनी प्रश्न गरे ।

नेपाल मजदूर किसान पार्टीका सांसद सुवालले एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको कानुन विपरीत भएको र नेपालको हितविपरितको सम्झौतालाई संसद्बाट अनुमोदन गरिनु नहुने बताए । उनले एमसिसी सम्झौताका बारेमा बृहत राजनीतिक सहमति नभएकाले सो सम्झौता अगाडि बढाउन नमिल्ने बताए । राष्ट्रिय जनमोर्चाका सांसद् पौडेलले एमसिसी परियोजना राष्ट्रिय हितमा नभएको भन्दै यसलाई खारेज गरिनुपर्ने बताए । उनले विदेशीको दबाबमा अगाडि बढाउने प्रयत्न भए पनि यसले राष्ट्रिय हित नगर्ने भनी विरोध गरे । “एमसिसी कुनै पनि हालतमा टेबुल गर्न मिल्दैन, यसलाई खारेज गर्नुपर्छ”, उनले भने । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपराह्न १ बजे बस्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्