स्यालको टोकाइबाट १२ घाइते

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ घाइते भएका छन् । आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौैको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ ।

स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरुलाई काठमाडौं पठाइएको प्रादेशिक अस्पताल मलङ्गवाका डा गौतम झाले जानकारी दिए । स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ कामाडौंमा मात्र पाइने भएकोले घाइतेलाई यहाँबाट काठमाडौँ पठाउनु परेको उनले बताए । भारतीय सीमावर्ती सो विष्णु गाउँपालिकामा आज बिहान अचानक स्याल गाउँ पसेर जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।

स्यालको टोकाइबाट विष्णु –४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधर, ७२ वर्षीय शङ्कर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जना कुमारी साह उनका ५ वर्षीय छोरा अनमोल साह घाइते भएका छन् । त्यस्तै विष्णु –२ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव, ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कतिपय घाइतेहरु अझै अस्पतालमा आइनपुगेको प्रहरीको भनाइ छ । स्यालले पशु चौपायालाई समेत टोकेर घाइते भएको स्थानीयवासीले जनाएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्