काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्