काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताएका छन् । बिहीवार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताएका हुन् ।
महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफुले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताए । उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेका छन् । संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताए । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको प्रतिवद्धता छ ।
त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उनले बताए । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनको भनाई छ । सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गरे । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उनले बताए । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उनको भनाई छ ।
त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उनको संकल्प छ । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने उनले बताए । सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटन सँग जोड्ने उल्लेख गरे । गुठि प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । उनले सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका बनाउने बताए । पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उनको भनाई छ ।
महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गरिने उनले उल्लेख गरे । त्यसैगरी युवाका लागि अवसर, महिलाको शशक्तिकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उनको प्रतिवद्धता छ । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उनले बताए । उनले सुकुम्बासीको समस्या समाधान गर्ने पनि बताए ।